हेटौंडा/ मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतको करिब साढे ३३ करोड रुपैयाँ खर्चेर पाँचवटा पक्की पुल निर्माण सम्पन्न गरेको छ। शनिबार एक समारोहबीच बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले तीमध्ये बाँकी दुईवटा पुलको उद्घाटन गरेसँगै गाउँपालिकाका चार वडाबासी प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
उद्घाटन समारोहमा बोल्दै सांसद बानियाँले गाउँपालिकाले गरेको विकासप्रति प्रशंसा व्यक्त गर्दै हाँडीखोला क्षेत्रका कृषकको उत्पादन बजारसम्म पुर्याउन अब सहज हुने बताए। “हाँडीखोलालाई राजमार्गसँग जोड्न प्रदेश सरकारमार्फत राप्ती खोलामा पुल बनायौं, यता वडा जोड्न गाउँपालिकाले आफ्नै स्रोतबाट पुल बनायो,” उनले भने, “अब यो लामिटार–मकरी सडक पिच गर्न प्रदेश सरकारमार्फत आवश्यक बजेट विनियोजन गर्छु। चौरासीसम्म सडक जसरी पनि पिच गर्ने हो।”
साथै उनले चकरीबाट हेटौंडा–१३ पद्मपोखरी जोड्ने पुल निर्माणका लागि पनि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिने प्रतिबद्धता जनाए। संघीयता र गणतन्त्रले धेरै विकास सम्भव बनाएको उल्लेख गर्दै उनले वर्तमान शासन प्रणाली जनताको पक्षमा रहेको बताए।

दुईवटा नयाँ पुल उद्घाटन
शनिबार उद्घाटन गरिएका पुलमध्ये मनहरी–३ मा रहेको ठाडो खोला पुल ८ दशमलव ४० मिटर चौडाइ र ९० मिटर लम्बाइको ३ स्पान पुल हो, जसको निर्माण हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा गरेको हो।
त्यस्तै हाँडी खोला पुल ३५ मिटर लम्बाइको एक स्पानको पुल हो, जसलाई भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँको ठेक्का सम्झौतामा निर्माण गरेको हो।
यसअघि नै तीनवटा पुल उद्घाटन
मनहरी गाउँपालिकाले लामिटार–मकरी–चकरी–बेलडाँडा सडक अन्तर्गतका तीनवटा पुल गत वर्ष नै उद्घाटन गरिसकेको थियो। तीमध्ये च्यापल खोला पुल (३ स्पान, लागत: ६ करोड २८ लाख ९८ हजार), ट्वाङ्ग्रा खोला पुल (२ स्पान, लागत: ६ करोड ४९ लाख ६० हजार) र मसिने खोला पुल (२ स्पान, ७४.५५ मिटर लम्बाइ, लागत: ६ करोड ५९ लाख ५० हजार) पर्छन्। यी तीनवटै पुलको निर्माण कार्य पनि बानियाँ हिराचन जेभीले गरेको हो।
बहुवर्षीय योजनाअन्तर्गत काम
गाउँपालिकाले हेटौंडा–१३ हुँदै मनहरीका वडा नं. १ देखि ४ लाई जोड्ने वैकल्पिक मार्गको अवधारणाअनुसार २०७७ सालमै एकैपटक ५ वटा पक्की पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो। २ वर्षभित्र निर्माण सक्ने लक्ष्य भए पनि विविध प्राविधिक र प्रशासनिक कारणले समय थपेर सबै पुल अब सम्पन्न भएको हो।
स्थानीयको जीवनशैलीमा सहजता
गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुल निर्माण सकिएसँगै स्थानीयको दैनिक जीवनयापनमा सहजता आउने र किसानका कृषि उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “अब हामी सडक स्तरीकरणमा पनि ध्यान दिन्छौं,” उनले भने।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलान, प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, पूर्व सांसद ओम ग्लान, पूर्व अध्यक्ष एकराज उप्रेती, कांग्रेस सभापति प्रकाश वर्तौला, वडा नं. ३ का अध्यक्ष अनन्त अर्याल, स्थानीय नरहरिनन्दन उप्रेतीलगायतको उपस्थिति र मन्तव्य रहेको थियो।







