हेटौंडा/ बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आइतबार साँझ साढे ८ बजेबाट सुरु भएको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री काफ्लेले सुरुमा ‘७६ अर्ब’को बजेट भन्दै सम्बोधन गरेपछि सभा हलमा हलचल भएको थियो। लगत्तै उनले वक्तव्य सच्याउँदै वास्तविक बजेटको आकार ६७ अर्ब रहेको प्रष्ट पारेका थिए।
बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार (३८.६%) र पुँजीगत खर्चतर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार (६१.४%) विनियोजन गरिएको छ।
यसअघि दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बजेटको आकारलाई लिएर सत्तारुढ दलहरूबीच मतभेद उत्पन्न भएपछि ढिलो गरी साँझ मात्रै सुरु भएको थियो।
नेपाली कांग्रेस र नेकपा एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भए पनि प्रस्तुत बजेटमा झण्डै ४ अर्बको वृद्धि भएको भन्दै सरकारभित्र विवाद चुलिएको थियो। अन्ततः ६८ अर्बको सन्दर्भमा सहमति कायम भएसँगै साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको हो।





