सामाजिक सञ्जालमा ‘अलविदा’ भन्दै स्टाटस लेखेका डा. केशव श्रेष्ठ सम्पर्कविहीन भएका छन्। डेढ घण्टाअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई झूठा आरोप लगाएर सरुवा गरिएको गुनासो पोखेका श्रेष्ठ हालसम्म सम्पर्कमा आएका छैनन्।
जिल्ला अस्पताल रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत श्रेष्ठ असार मसान्तमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौंडा सरुवा भएका थिए। उनले अस्पताल सुधारका लागि प्रयास गर्दा राजनीतिक हस्तक्षेप, धम्की र आर्थिक चलखेलको सामना गर्नु परेको बताएका छन्।
‘२५ महिनाको सेवामध्ये १८ महिना निमित्त प्रमुखको रूपमा अस्पताल सुधारका लागि खटिएँ। भ्रष्टाचारमा संलग्न कर्मचारी भाग्न थाले, तर मैले काम छाडिनँ,’ उनले स्टाटसमा लेखेका छन्, ‘रामेछाप–८ का पूर्व वडाध्यक्ष केदार कार्कीले मागेको पैसा नदिएको, आफन्तलाई जागिर नदिएको भन्दै ममाथि झूठा आरोप लगाइयो र सरुवा गरियो।’
उनले कार्यकक्षमै धम्की दिएको दाबी गर्दै लेखेका छन्, ‘एप्रन नलगाएको विषयमा प्रश्न गर्दा एकजना डाक्टर झगडामा उत्रिए, त्यही डाक्टरले केदार कार्कीलाई बोलाएर मेरो कार्यकक्षमै थर्काए। उनले “तीन दिनमा तेरो सरुवा गरिन भने मेरो नाम केदार होइन” भन्दै धम्की दिए।’
डा. श्रेष्ठको मोबाइल स्विच अफ रहेको र अन्तिम लोकेशन काठमाडौंको चावहिलमा देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप कुमार सिंहले जानकारी दिए। ‘उहाँको अवस्था र ठेगाना पत्ता लगाउन काठमाडौं प्रहरी परिसरसँग समन्वय गरेर खोजी भइरहेको छ,’ सिंहले भने।
प्रहरीले डा. श्रेष्ठले लेखेका सामाजिक सञ्जालका सामग्रीका आधारमा थप अनुसन्धान अघि बढाएको छ।







