मनहरी गाउँपालिकाले सोमबार गाउँसभा अधिवेशनमार्फत आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पालिकाले स्वास्थ्य, सरसफाइ, पूर्वाधार, पर्यटन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि सारेको हो।
गर्भवती महिलाका लागि आधारभूत स्वास्थ्य परीक्षण र भिडियो एक्सरे सेवा निःशुल्क उपलब्ध गराउने, सतप्रतिशत महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउने अभियान सञ्चालन गरिने बताइएको छ। त्यस्तै, जटिल रोग लागेका, गरिब, अतिविपन्न, अपांग तथा असहाय नागरिकका लागि एम्बुलेन्स सेवामा छुट प्रदान गरिने छ।

स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै मृगौला प्रत्यारोपण, डायलासिस, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका आर्थिक अवस्था कमजोर बिरामीलाई मासिक पाँच हजार रुपैयाँ निर्वाह भत्ता दिने कार्यक्रम ल्याइएको छ।
पालिकाले सबै वडामा शुद्ध खानेपानी पुर्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ भने पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउन विशेष अभियान सञ्चालन गरिनेछ। फोहोरमैला संकलन तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने योजना समेत सार्वजनिक गरिएको छ।
अल्पसंख्यक र सीमान्तकृत समुदाय – चेपाङ, बोटे, बनकरीया, मुस्लिम तथा दलितलाई विकासको मूलधारमा ल्याउने योजना अघि सारिएको छ। साथै, सम्भाव्य पर्यटकीय क्षेत्रको विकासका लागि कानुन तर्जुमा गर्दै मनहरी पर्यटन विकास बोर्ड गठन गरिने नीति तय गरिएको छ।
ज्येष्ठ नागरिकका लागि दिवा विश्रामस्थल निर्माण गर्ने, बालबालिका तथा युवासँग अन्तरसम्वाद कार्यक्रम सञ्चालन गर्ने नीति पनि कार्यक्रममा समावेश गरिएको छ।

पूर्वाधार क्षेत्रमा रजैया–लामिटार–चकरी सडक निर्माण तीव्र बनाउन, रजैया–दर्दरा पक्की पुल समयमै सम्पन्न गर्न सहकार्य गरिनेछ। गाउँभित्रका महत्वपूर्ण सडकहरूमा कालोपत्रे, ढलान र ग्रावेलको कामलाई निरन्तरता दिने र ३ तथा ४ नं वडाका भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने छ।

मृतक व्यक्तिका परिवारलाई गाउँपालिका अध्यक्ष वा उपाध्यक्षको उपस्थितिमा समवेदना प्रकट गर्दै २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने नीति पनि यथावत् राखिएको छ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पुराना सफल कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थपिएको जानकारी दिए। शून्य समयमा वडा सदस्यहरुले आफ्ना वडाका समस्या उठाएका थिए भने अधिवेशनमा उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलगायत वडा अध्यक्ष र सदस्यहरूको उपस्थिति रहेको थियो।







