हेटौंडा/ बागमती प्रदेश युवा परिषद्का पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले आफ्नो चार वर्षे कार्यकाल सम्पन्न भएको घोषणा गरेका छन्। कार्यकालको समाप्तिसँगै उनले मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै कार्यकाललाई सफल, सुखद र उपलब्धिमूलक भएको बताएका हुन्।
चौलागाईले २०७९ सालमा नियुक्त भई २०८२ साल जेठ ३१ गतेसम्म कार्यभार सम्हाल्दा युवालाई राज्यसँग जोड्ने उद्देश्यका साथ थुप्रै नीति, कार्यक्रम र अभ्यास सञ्चालन गरिएको जानकारी दिए। उनले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, सचिवहरू, सरोकारवाला निकाय, कर्मचारी, पत्रकार र युवाप्रति आभार व्यक्त गर्दै विभिन्न चुनौतीका बाबजुद पनि युवाका पक्षमा ठोस उपलब्धि हासिल भएको उल्लेख गरे।
उनका अनुसार कार्यकालको प्रमुख उपलब्धिमा प्रदेश युवा नीतिको निर्माण, नमूना युवा संसदको अभ्यास, प्रदेश युवा सम्मेलनको तीनपटक सफल आयोजना, युवालाई सीपमूलक तालिममार्फत स्वरोजगारमा जोड्ने अभियान, महिला युवाका लागि आत्मरक्षा तालिम, र युवा नीतिबारे बहस र पैरवी समेटिएका छन्।
आर्थिक वर्ष २०८१/८२ लाई ‘सीप वर्ष’ घोषणा गरी करिब १० हजार युवालाई सीपमूलक तालिम दिइएको र सयौं युवा स्वरोजगार बन्न सफल भएको जानकारी दिँदै चौलागाईले त्यसको प्रतिनिधिमूलक दस्तावेज तयार भइरहेकाले जानकारी दिए। महिला युवालाई लक्षित गर्दै आत्मरक्षा तालिम १३ वटै जिल्लामा फैलाइएकाले महिलाको आत्मविश्वास बढेको समेत उनले बताए।
उनले युवालाई कुलतबाट जोगाउँदै समाजप्रति उत्तरदायी बनाउन कार्यशाला, अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए। ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममार्फत नीतिनिर्माण प्रक्रियामा युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिनु पनि कार्यकालको विशेष पक्ष भएको उनले बताए।
प्रदेश सरकारले हालै परिषद्लाई खेलकुद परिषद्सँग गाभ्ने तयारी गरिरहेको सन्दर्भमा चौलागाईले आफ्नो कार्यकालको अनुभवलाई आधार बनाएर परिषद्लाई हालकै संरचनामा राखी थप सशक्त बनाउनु पर्ने सुझाव प्रदेश सरकारलाई दिएका छन्।
कार्यकाल सफलतापूर्वक पूरा गर्न पाउँदा गौरवको अनुभूति भएको उल्लेख गर्दै उनले प्रदेश सरकारको आवश्यकता अनुसार आगामी दिनमा पनि सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा चौलागाईले आफ्नो कार्यकालभर सञ्चारमाध्यममा प्रदेश युवा परिषद्को कामलाई स्थान दिने, सुझाव र आलोचना गर्ने सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति आभार प्रकट गरेका थिए।







