मकवानपुरगढी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका’ घोषित भएको छ।
मंगलबार आयोजित विशेष समारोहकाबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।

राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार, जेष्ठ २५ गतेसम्म १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेका आधारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको जनाइएको छ।
घोषणासँगै जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयले गाउँपालिकालाई प्रमाणपत्र प्रदान गरेको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक दोर्जे लामा स्याङ्तानको अध्यक्षता रहेको थियो।
जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले “पूर्ण खोप सुनिश्चितता गाउँपालिका” को प्रमाणपत्र गाउँपालिका अध्यक्ष स्याङ्तानलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा खोप समन्वय वडा समिति र वडा तहका स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। गाउँपालिकाका सबै वडामा पूर्ण खोप घोषणा भइसकेपछि समग्र गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले जानकारी दिए।
घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, वडा नं. २ का अध्यक्ष बखानसिं पाख्रीन, वडा नं. ३ का भागवत घिमिरे, वडा नं. ४ का अर्जुनप्रसाद तिमल्सिना, वडा नं. ५ का दिपेश दाहाल, वडा नं. ७ का सुर्यबहादुर रुम्बालगायत विभिन्न वडाका जनप्रतिनिधि, शाखा प्रमुख, विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, रेडक्रस, टोल विकास संस्था तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।








