मकवानपुरको थाहा नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। थाहा नगरपालिका–१ कुन्छालमा बिहीबार (आज) दिउँसो करिब २:२० बजेको समयमा ५० वर्षीया तुलमाया गोपालीको हत्या भएको हो।
उनीमाथि छिमेकी तथा देवर नातामा पर्ने ३५ वर्षीय बिमलमान गोपालीले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार घटनास्थलमै उनको ज्यान गएको थियो भने टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको थियो।
घटना पश्चात फरार रहेका अभियुक्तलाई प्रहरी चौकी बज्रबाराही र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले खोजी गर्दै जाँदा सोही दिन अपराह्न ३:३५ बजे थाहा नगरपालिका–३ थानाबजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका गोपालीलाई इलाका प्रहरी कार्यालय पालुङमा राखिएको छ। घटनाको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
मृतकको माइती पक्ष समेत कुन्छालमै रहेको जनाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







