हेटौंडा/ नेपाल प्रेस युनियन मकवानपुरले प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढताका साथ उभिन आग्रह गर्दै शुक्रबार पत्रकारमाथि भएको व्यवहारप्रति कडा आपत्ति जनाएको छ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणबारे नेपाली कांग्रेस मकवानपुरले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम आयोजना गरेको थियो। सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो।
उक्त दुवै राजनीतिक गतिविधिको समाचार संकलन गर्न जिल्ला प्रशासन कार्यालय पुगेका पत्रकारलाई कार्यालयभित्र छिर्न, दृश्य खिच्न र समाचार संकलन गर्न रोक लगाइएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको युनियनले जनाएको छ।
नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्य गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) सहित अन्य सञ्चारकर्मीहरूलाई प्रशासनको निर्देशनमा प्रवेशमा रोक, दृश्य छायांकनमा अवरोध गरिएकोप्रति युनियन अध्यक्ष सुवास विडारीले गम्भीर ध्यानाकर्षण भएको बताए।
“समाचार संकलन गर्न गएका पत्रकारलाई रोक्नु, दृश्य खिच्न नदिनुजस्ता कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि हुन्,” अध्यक्ष विडारीले भने, “सार्वजनिक पदमा रहेकाले संविधान र कानुनले प्रत्याभूति गरेको अधिकारमाथि हस्तक्षेप गर्नु गम्भीर अपराध हो।”
युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १७(२)(क), १९, २७ र ३५(४) ले अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको छ। सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ अनुसार पेशागत कार्यमा अवरोध पुर्याउने गतिविधि दण्डनीय मानिन्छ।”
प्रेस युनियन मकवानपुरले प्रमुख जिल्ला अधिकारीलाई पत्रकारहरूको मर्यादा, पेशागत स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति हुने गरी कार्य सम्पादन गर्न आग्रह गर्दै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नगर्न चेतावनी दिएको छ।








