चितवनको राप्ती नगरपालिका–४ स्थित खहरेपुल नजिकै पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा एक गर्भवती महिला सहित ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
शनिबार बिहान करिब १०ः१५ बजे धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी एकआपसमा ठोक्किएका थिए।
घटनापछि घाइतेलाई उपचारका लागि भरतपुरस्थित विभिन्न अस्पतालहरूमा लगिएको थियो।
भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा पाँच जनाको र पुरानो मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
भरतपुर अस्पतालमा ज्यान गुमाउनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, अन्दाजी १९ वर्षीया एक महिला, अन्दाजी २५ वर्षीया अर्की महिला र अन्दाजी २३ वर्षीय एक पुरुष रहेका छन्।
त्यस्तै, पुरानो मेडिकल कलेजमा मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया एक गर्भवती महिला र अन्दाजी ४० वर्षीय एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनीहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको छ। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने घटनाको थप विवरण आउन बाँकी छ।







