जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार (असार ८) का लागि बाढीसम्बन्धी सतर्कता सूचना जारी गरेको छ।
महाशाखाका अनुसार आगामी तीन दिन कर्णाली, महाकाली र ती क्षेत्रका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि क्रमशः बढ्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी र नारायणी नदी तथा तिनका सहायक नदीहरूको जलसतह भने सतर्कता तह आसपास पुग्ने सम्भावना देखिएको छ।
यस आधारमा नदी किनार क्षेत्रका बासिन्दा तथा नदी आसपासका गतिविधिमा संलग्न व्यक्तिहरूले विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज विशेषगरी इलाम, पाँचथर, धनकुटा, उदयपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, बाग्लुङ, दाङ, प्युठान, सल्यान, रोल्पा, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, सुनसरी, मोरङ, जाजरकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने तथा केही स्थानमा आकस्मिक बाढीको जोखिम देखिएकाले सावधानी अपनाउन भनिएको छ।
बाढी महाशाखाले नदी तटीय क्षेत्रहरूमा हुने कुनै पनि किसिमका क्रियाकलाप गर्दा जोखिमको मूल्याङ्कन गरी मात्रै अघि बढ्न सुझाव दिएको छ।









