बाग्मती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ७२ लाख ६७ हजार रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको दोस्रो गाउँसभा सातौँ अधिवेशनमार्फत अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले बजेट प्रस्तुत गरेका हुन्।
अध्यक्ष घलानले जनप्रतिनिधि र स्थायी सरकारी कर्मचारीका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नीति ल्याएको जानकारी दिएका छन्। यसलाई कार्यान्वयन नगरे १० प्रतिशत शैक्षिक कर तलब तथा सेवासुविधाबाट कट्टा गरिने व्यवस्था गरिएको छ।
गाउँपालिकाले बाग्मती–८ स्थित जनता माविलाई बहुमुखी क्याम्पसको रूपमा सञ्चालन गर्ने योजना ल्याएको छ। साथै, प्रत्येक वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र एकल पुरुषलाई पनि भत्ता दिने व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
गाउँपालिकाले आन्तरिक स्रोतसाधन प्रयोग गरी क्रसर उद्योग स्थापना गर्ने लक्ष्य लिएको छ। यसका लागि ५ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ। क्रसर सञ्चालनबाट आन्तरिक राजस्व वृद्धि गर्ने उद्देश्य लिएको उपाध्यक्ष तिमल्सिनाले बताए।
आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट अनुसार:
सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ४२ करोड रुपैयाँ छुट्याइएको छ। पूर्वाधार विकासमा १७ करोड, कार्यालय तथा प्रशासनमा १२ करोड २६ लाख, विपत् व्यवस्थापनमा १ करोड १६ लाख,आर्थिक विकासमा ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासमा ४ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ।
बजेटको स्रोतका रूपमा आन्तरिक आम्दानीबाट ९ करोड ८ लाख २५ हजार, राजस्व बाँडफाँटबाट २२ करोड ५९ लाख ३१ हजार ६७४, प्रदेश सरकारबाट ५ करोड ९९ लाख ११ हजार र संघीय सरकारबाट ४६ करोड ६ लाख रुपैयाँ रहनेछ।
पालिकाले आगामी असार २८ गते नीति, कार्यक्रम र बजेट पारित गर्ने तयारी गरेको छ।







