पूर्वी मकवानपुरस्थित बकैया गाउँपालिकामा आवासीय विद्यालयको आवश्यकता रहेको भन्दै स्थानीय बासिन्दाले माग गरेका छन्। सोमबार पालिकाले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयले यस्तो माग राखेका हुन्।

नीति तथा कार्यक्रम तथा बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा पालिकाका विभिन्न वडाबाट सहभागी स्थानीयले अभिभावकविहीन तथा असहाय विद्यार्थीहरूको संख्यामा वृद्धि भएकोले उनीहरूलाई लक्षित गर्दै आवासीय विद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका थिए। साथै, अध्ययनपछि विद्यार्थीहरू अन्यत्र पलायन हुने प्रवृत्ति रोक्नसमेत आवश्यक पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले कृषि तथा आयआर्जनमा निर्भर गाउँको आर्थिक समृद्धिको लागि तरकारी तथा फलफूल उत्पादनको दिगोपनालाई प्राथमिकतामा राख्नुपर्ने, एक स्थानीय तहबाट अर्को स्थानीय तह वा जिल्ला जोड्ने सडकहरू स्तरोन्नति गर्न बजेट छुट्याउनुपर्ने, खोलानाला तथा नदी नियन्त्रणका लागि गुरुयोजना निर्माण गर्नुपर्ने लगायतका सुझावहरू राखेका थिए।

त्यस्तै, धार्मिक र पर्यटकीय क्षेत्रहरूको पहिचान र प्रवर्द्धन गरी आन्तरिक राजस्व वृद्धि गर्न, पुराना योजनाको अध्ययन गरी प्राथमिकता तय गर्न, सामाजिक संघसंस्थासँग समन्वयमा एकीकृत सामाजिक सुधार कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि उठाइएको थियो। साथै, विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच एकद्वार प्रणाली विकास गर्नुपर्नेमा समेत सहभागीहरूले जोड दिए।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाको स्रोतले मात्र आवासीय विद्यालय सञ्चालन सम्भव नरहेको भन्दै संघीय तथा प्रदेश सरकारसँग समन्वय गर्दै जाने प्रतिबद्धता जनाए। हाल बकैया–५ स्थित गीताबर आधारभूत विद्यालयमा पालिकाको सहकार्यमा आवासीय विद्यालय सञ्चालन गरिएको भए पनि त्यसमा समस्या देखिएको बताउँदै उहाँले थप प्रयास गरिने जानकारी दिनुभयो।
अध्यक्ष लामिछानेले प्रदेश सरकारभन्दा स्थानीय तहले नागरिकको जीवनसँग जोडिने कार्यमा बढी योगदान दिइरहेको भन्दै उत्पादनमुखी बजेट निर्माणमा जोड दिनुभयो। अघिल्लो वर्षहरूमा धेरै योजना बनाएर पनि कार्यान्वयन अपूर्ण भएको उल्लेख गर्दै यसपटक आवश्यक प्राथमिकता अनुसारको ‘विकासे बजेट’ ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आवश्यकताको आधारमा प्रत्येक वडामा बजेट विनियोजन गरिने पनि उहाँले जानकारी दिनुभयो।







