हेटौंडा/ हेटौंडामा पहिलोपटक रोजगारी र उद्यमशीलतामा युवालाई जोड्ने उद्देश्यसहित ‘बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव असार १४ र १५ गते हेटौंडा–२ स्थित पल्पसा प्याराडाइजमा हुने आयोजकले जनाएको छ ।
दुई दिने महोत्सवमा विशेषगरी कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थी तथा रोजगारीको खोजीमा रहेका युवालाई लक्षित गरिएको छ । महोत्सवमा २५ भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय रोजगारदाता कम्पनीको सहभागिता रहनेछ । ती कम्पनीहरूले अन द स्पट अन्तर्वार्ता लिई रोजगारीको अवसर प्रदान गर्नेछन् ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले पत्रकार सम्मेलनमार्फत महोत्सवबाट सयौं युवाहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी युवाहरूले व्यवसायिक परामर्श, बजारीकरण सम्बन्धी तालिम, बैंक कर्जा प्रवाह प्रक्रिया, सीभी लेखन, अन्तर्वार्ता तयारी, उद्यमशीलता प्रवर्द्धन लगायतका विषयमा जानकारी र मार्गदर्शन प्राप्त गर्नेछन् । साथै, श्रम तथा रोजगारसम्बन्धी विषयमा विज्ञहरूसँग प्यानल छलफल समेत गरिने बताए ।
संघका उपाध्यक्ष उज्वल चौंलागाईका अनुसार महोत्सव सञ्चालनका लागि करिब १४ देखि १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
महोत्सवको उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले असार १४ गते शनिबार गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार तीन दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी उद्योग प्रतिष्ठानको सहभागिता रहनेछ । महोत्सवमा करिब पाँच सयभन्दा बढी युवाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ भने दुई हजारभन्दा बढी युवाहरूले सेवा र परामर्शमार्फत लाभ लिने विश्वास लिइएको चौलागाई जानकारी दिए।







