गत वर्षको तुलनामा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा १३.९५ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ६१.८१ प्रतिशत उत्तीर्ण भएका छन्, जबकि गत वर्ष यो संख्या ४७.८६ प्रतिशत मात्र थियो।
नतिजामा समग्र सुधार भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूकै मेहनत काम लागेको प्रतिक्रिया दिएका छन्। तर समग्रमा नतिजा राम्रो देखिए पनि विषयगत नतिजा भने सन्तोषजनक छैन।
मुख्य विषयहरूमा विद्यार्थीको प्रदर्शन कमजोर देखिएको छ। अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक अध्ययनमा धेरै विद्यार्थी ‘ननग्रेडिङ’ (एनजी) मा परेका छन्। गणितमा सबैभन्दा धेरै, १ लाख २८ हजार २१८ जना विद्यार्थी एनजी मा परेका छन्। त्यसपछि अंग्रेजीमा ८० हजार ६७२, विज्ञानमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५ र सामाजिकमा ५३ हजार १७६ जनाले ग्रेड प्राप्त गर्न सकेनन्।
बोर्डका अनुसार ऐच्छिक विषयहरूमा पनि उल्लेख्य संख्यामा विद्यार्थी असफल भएका छन्। ऐच्छिक गणितमा १८ हजार २२२ र ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० विद्यार्थी ननग्रेडिङमा परेका छन्।
यस वर्षको परीक्षामा कुल ३८.१९ प्रतिशत अर्थात् १ लाख ६७ हजार ५९७ विद्यार्थी अनुत्तीर्ण भएका छन्।
जीपीए विवरण
३.६ देखि ४.० जीपीए ल्याउने: ४८,१७७
३.२ देखि ३.६: ८१,३८५
२.८ देखि ३.२: ८९,१२४
२.४ देखि २.८: ४८,४७९
२.० देखि २.४: ४,१२६
२.० भन्दा कम ल्याउने: ८ जना
त्यस्तै, १२६ जनाको परीक्षा रद्द गरिएको छ।
४ जीपीए ल्याउने विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजीमा उत्कृष्ट देखिएका छन्, त्यसपछि गणित र विज्ञानमा छन्। बोर्डको प्रारम्भिक विश्लेषण अनुसार, ४ जीपीए ल्याउने धेरै विद्यार्थीले सैद्धान्तिकभन्दा प्रयोगात्मकतर्फ उच्च अंक ल्याएका छन्।
पुरक परीक्षा साउन २९ गते
बोर्डका अनुसार एनजी प्राप्त गरेका विद्यार्थीमध्ये दुई विषयसम्म असफल भएकाहरूका लागि साउन २९ गते पुरक परीक्षा लिइनेछ।
ग्रेडिङ प्रणालीअनुसार, सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अनिवार्य रुपमा ल्याउनु पर्ने प्रावधानले पनि धेरै विद्यार्थी ननग्रेडिङमा परेका हुन्।