हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशकै गौरवको योजना भएको बताएका छन्।
शनिबार हेटौँडामा आयोजित प्रतिष्ठानको पाँचौँ वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री लामाले स्वास्थ्यकर्मी उत्पादन गर्ने यस थलोले प्रदेशको स्वास्थ्य क्षेत्रको उन्नतिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले लोकतन्त्रपछि स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आएको स्मरण गराउँदै १३ वटै जिल्लाका प्रादेशिक अस्पताल क्रमशः सुधार हुँदै गएको जानकारी दिए।
मुख्यमन्त्री लामाले हेटौँडा अस्पताल तीन सय शय्यामा सञ्चालनमा आएसँगै जनताले सेवा पाउन थालेको बताए। उनले स्वास्थ्य संस्थाको नाम मात्रले अर्थ नराख्ने भन्दै जनताका लागि काम हुनुपर्नेमा जोड दिए। “नाम जो नेताको राखे पनि काम जनताको लागि हुनुपर्छ, नामले मात्र केही फरक पर्दैन,” उनले स्पष्ट पारे।
प्रतिष्ठानमा अध्ययन गरी तयार भएका स्वास्थ्यकर्मी काठमाडौं उपत्यका बाहेकका दुर्गम जिल्लामा गएर सेवा गर्नुपर्नेमा पनि उनले जोड दिए।
मुख्यमन्त्री लामाले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रतिष्ठानलाई ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिए। आवश्यकताअनुसार थप बजेट समेत विनियोजन गरेर स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले औसतभन्दा अब्बल जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए। हेटौँडाले शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले धारणा राखे।
कार्यक्रममा कार्यवाहक स्वास्थ्य मन्त्री प्रेमभक्त महर्जन, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रकाश पौडेल लगायतले हेटौँडालाई ‘मेडिकल सिटी’को रूपमा विकास गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे।
सो अवसरमा प्रतिष्ठानले आफ्ना कर्मचारीहरूलाई सम्मान गरेको थियो। कार्यक्रममा पूर्व उपकुलपति विश्वराज जोशी, रेक्टर भीम सागर गुरागाईँ, डिन दुर्गा खड्का मिश्र लगायतले मन्तव्य राखेका थिए।
प्रतिष्ठानका कुलपति प्रा.डा. प्रदीप ज्ञवालीले यस वर्षदेखि ८ सिटका साथ स्नातकोत्तर तहमा ७ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिए।








