हेटौंडा उपमहानगरपालिकामा स्थापना भएको टोल विकास संस्था नगर समन्वय समितिको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती विशेष समारोह भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा नगरभित्रका १९ उत्कृष्ट टोल विकास संस्था र १३ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ। साथै, संस्थाका संस्थापक अध्यक्ष स्व. रमेश रत्न स्थापितको नाममा “स्व. रमेश रत्न स्मृति अक्षयकोष” स्थापनाको घोषणा गर्दै रु. १ लाख अक्षयकोषमा जम्मा गरिने जानकारी दिइएको छ। समारोहमा ‘टोल विकास स्मारिका–२०८२’ को विमोचनसमेत गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि उपमहानगर प्रमुख मिना कुमारी लामा रहनु भएको थियो। साथै, वडा नं. ४ का अध्यक्ष नविन सिग्देल, वडा नं. ११ की अध्यक्ष जुना दाहाल, सामाजिक विकास महाशाखा प्रमुख डा. भिमप्रसाद तिमल्सिना, सल्लाहकार डा. बलराम भट्ट, प्रताप विष्ट, ज्ञानबहादुर थापा, राजु अधिकारी, जगन्नाथ सापकोटा, मानव सेवा आश्रम अध्यक्ष रामजी अधिकारीलगायत समाजसेवी र टोल प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमा स्व. रमेश रत्न स्थापितको स्मृतिमा स्थापित “स्व. रमेश रत्न स्मृति सम्मान–२०८२” हेटौंडा–२ निवासी चन्द्रशेखर ढुंगानालाई प्रदान गरिएको छ। साथै, सामाजिक सेवा, महिला सशक्तिकरण, सरसफाइ तथा नेतृत्व विकासमा योगदान दिने १३ विशिष्ट व्यक्तित्वलाई ‘रजत जयन्ती विशेष सम्मान’ प्रदान गरिएको हो।
नगरका १९ वटै वडाबाट चयन गरिएका टोल विकास संस्थाहरूमध्ये चेतनशिल, सिद्धार्थ, वसाहा महादेव, बुद्ध, ज्ञानदीप, गुप्तेश्वरी, किरणचोक, कालिकामाई, प्रगति, नमुना, कृष्ण मन्दिर, सुनौलो, पध्म विनायक, कालीदेवी, सानो सुकौली, पुर्वेली दमार, डिपुचौर, भुटनदेवी र तपोवन टोल विकास संस्थालाई उत्कृष्ट कार्यका लागि प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर लामाले टोलस्तरमा सशक्त सहभागिता, सचेतना र सेवा भावनाले समावेशी र सक्षम स्थानीय शासन निर्माणमा टोल संस्थाहरूको भुमिका महत्वपूर्ण रहेको बताउँदै संस्थाहरूको निरन्तर सक्रियताको प्रशंसा गर्नुभयो।
कार्यक्रममा अध्यक्ष अधिकारीले हेटौंडाबाट २०५६ सालमा सुरु भएको टोल विकास अभियानले २५ वर्षको महत्वपूर्ण यात्रा पूरा गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरणमा सहकार्य र समर्पणको प्रतीकका रूपमा टोल संस्था अभियानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समारोहले सामाजिक उत्तरदायित्व, सहभागिता, वातावरणीय सचेतना र समुदाय नेतृत्वलाई अझै प्रवर्द्धन गर्ने सन्देश दिएको आयोजकको भनाइ छ।









