मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७, नागस्वती शान्तिटोलमा आज साँझ करेन्ट लाग्दा एकै परिवारका तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार साँझ करिब पौने ६ बजे विद्युत पोलमा मर्मत कार्य गरिरहेका कर्मचारीको लापरबाहीका कारण विद्युतको तार अचानक भुइँमा खसेको थियो। सोही क्रममा बाटो हुँदै जाँदै गरेका उनीहरू करेन्टको चपेटामा परेका हुन्।
घाइते हुनेहरूमा ४६ वर्षीय सञ्चय कुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र एक वर्षीया नातिनी श्रियाना पुडासैनी रहेका छन्।
घटनामा सञ्चय कुमारको दुबै गोडा गम्भीर रूपमा जलेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ। लक्ष्मी पुडासैनी र नातिनी श्रियानाको हात र खुट्टा जलेको छ र उनीहरू मध्यम घाइते भएका छन्।
घटनापछि घाइतेहरूलाई तत्काल हेटौँडा अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई साँझ ७ बजे चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिए।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी चौकी हरियालीबाट प्रहरी टोली घटनास्थलमा खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








