हेटौँडा/ भूमि समस्या समाधान आयोग मकवानपुरले आफ्नो अभियानलाई निरन्तरता दिँदै हेटौँडा उपमहानगरपालिका वडा नं. १६ मा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बुधवार सम्पन्न उक्त कार्यक्रममा वडास्तरमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बासोबास सम्बन्धी पहिचान, प्रमाणीकरण र लालपुर्जा वितरणको प्रक्रिया विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइरालाको सभाध्यक्षता तथा आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्य रहेको थियो।
आयोग अध्यक्ष बलले पहिचान र प्रमाणीकरण भइसकेका भूमिहीन दलित तथा सुकुम्बासीको फाइल आयोगमा प्राप्त भएको मितिले ६० दिनभित्र लालपुर्जा वितरणको वातावरण बनाइने प्रतिबद्धता जनाए।
वडा अध्यक्ष कोइरालाका अनुसार वडामा भूमिहीन दलित तथा सुकुम्बासीका ५० र अव्यवस्थित बसोबासीका ५३० गरी जम्मा ५८० फाइल प्रमाणीकरण गरिएका छन्। तीमध्ये अव्यवस्थित बसोबासीका सबै फाइल कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको र बाँकी फाइलको प्रविष्टि कार्य जारी रहेको जानकारी दिए।
आयोग सदस्य कविन सांगामीका अनुसार १६ नं. वडाबाट ५३० परिवार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थितका रूपमा प्रमाणित भइसकेका छन्। कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष कोइरालाले राखेका थिए भने आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईंले कार्यक्रमबारे प्रकाश पारे।

त्यसैगरी नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर रानाले वडाले गर्नुपर्ने भूमिकाबारे स्पष्ट पारे। कार्यक्रममा आयोगकी महिला सदस्य दिलमाया घर्ती, मालपोत कार्यालयका इश्वरप्रसाद घिमिरे, वडा सचिव दुर्गाप्रसाद न्यौपाने, वडामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।








