हेटौँडा/ बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले समाजमा लागूपदार्थ प्रयोग बढ्दो क्रममा रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। लागू औषध सेवनले व्यक्ति मात्र होइन, परिवार र समाजलाई समेत असर पुर्याउने भन्दै उहाँले यसको न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालय पूर्ण रूपमा सक्रिय रहने बताउनुभयो।
शुक्रवार आयोजित लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले यो समस्या केवल सवारी चालक वा विशेष वर्गको मात्रै नभई समग्र समाजको रहेको बताउनुभयो। “एउटा व्यक्तिको कुलतले पूरै परिवार र समाज कलंकित हुन्छ,” उहाँले भन्नुभयो, “हामीले चालक मात्रै होइन, सम्पूर्ण समाजलाई लक्षित गरी चेतनामूलक तथा सुधार कार्यक्रम अघि बढाउनुपर्छ।”
सवारी साधन चलाउँदा लागूपदार्थ सेवन गर्ने चालकहरूको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गर्न सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको जानकारी दिँदै मन्त्री थापाले यसले सडक सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले लागूपदार्थ नियन्त्रणका लागि वर्षभर निरन्तर परीक्षण कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो। “एकचोटि कुलतमा फसेपछि त्यसबाट बाहिरिन गाह्रो हुन्छ, त्यसैले समयमै रोकथाममा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो।
यसै अवसरमा बागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले लागूपदार्थ सेवनबाट दुर्घटना र आपराधिक गतिविधि उल्लेखनीय रूपमा बढेको जानकारी दिनुभयो। “सवारी चालकले लागूपदार्थ सेवन गरेको अवस्थामा दुर्घटनाको जोखिम अत्यधिक हुन्छ। किशोर, युवा तथा एम्बुलेन्स चालकसमेत यसको चपेटामा परिरहेका छन्,” उहाँले बताए।
स्वास्थ्य मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण र लागूपदार्थ नियन्त्रणलाई प्राथमिकतामा राख्दै १३४० थान लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेको छ। ती किटहरू स्वास्थ्य मन्त्री थापाले एसपी सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो।







