मकवानपुरको भिमफेदी गाउँपालिका–१ टौवासस्थित खोलामा नुहाउने क्रममा एक जना पुरुषको खोलाले बगाएर ज्यान गएको छ।
असार २१ गते दिउँसो करिब ३:१५ बजे पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–५ निवासी अन्दाजी ४५ देखि ५० वर्षका पुरुषोत्तम शर्मा टौवास खोलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढेपछि बगाएर करिब ४ सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शर्मा ईभी गाडी रिजर्भ गरी साथीहरूसँग वीरगञ्जबाट भिमफेदी बनभोजका लागि आएका थिए। खोलामा नुहाउँदा बहाव अचानक बढेपछि उनी बगेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप प्रहरी टोली खटिएको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।








