हाल देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यदेखि आंशिक बदलीको अवस्था छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा तथा अन्य प्रदेशका केही हिमाली भेगमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यिनै चार प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन सक्ने महाशाखाको चेतावनी छ।
त्यस्तै, ठूला–साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।







