उपभोक्ता अदालतको पछिल्लो फैसलाको विरोधमा नेपाल चिकित्सक संघले सोमबार देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।
चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत चिकित्सक संघले स्वास्थ्य सेवा बहिष्कार गर्दै दबाबमूलक आन्दोलन थालेको हो। संघले कानून संशोधनको माग राख्दै देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको जनाइएको छ।

संघको आन्दोलनमा अरू नौवटा स्वास्थ्यसम्बद्ध संस्था र संगठनहरूले पनि ऐक्यबद्धता जनाएका छन्।
हालै ओम अस्पताल, हिमाल अस्पताल र ग्राण्डी सिटी अस्पतालविरुद्ध परेको मुद्दामा अदालतले लापरवाही भएको ठहर गर्दै अस्पताल तथा संलग्न चिकित्सकहरूलाई करोडौँ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएपछि स्वास्थ्य क्षेत्रमा व्यापक प्रतिक्रिया देखिएको छ।
यस आन्दोलनप्रति नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरले पनि ऐक्यबद्धता जनाएको छ। संघका सुधीर दहालले आन्दोलनलाई समर्थन जनाउँदै स्वास्थ्य सेवा सुरक्षाका लागि एकबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्।









