हेटौंडा/बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट बहुमतले पारित भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई बहुमतले पारित गरेको हो।
बैठकमा बजेटसँगै प्रस्तुत भएको पुरक प्रस्तावलाई समेत प्रदेशसभाले विनियोजन विधेयकको अंग बनाउने निर्णय गरेको छ। सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका प्रस्तावहरूमा सत्तारुढ दलका सांसदहरू पक्षमा रहे भने प्रतिपक्षले असहमति जनाएका थिए।
यसअघि आइतबार र सोमबार बिहान प्रदेशसभामा सांसदहरूले बजेटमाथि धारणा राखेका थिए। मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्री काफ्लेले उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
गत असार १ गते पेस भएको बजेटमाथि असार १२ गतेदेखि छलफल हुने कार्यसूची तय भए पनि राजनीतिक विवादका कारण बैठक पटक–पटक स्थगित भएको थियो। छलफल सुरु गर्न दलहरूबीच ८ बुँदे सहमति भएपछि बजेटको पुरक प्रस्तावसहित छलफल अगाडि बढाइएको हो।







