चीनतर्फबाट आएको बाढीका कारण रसुवामा ठूलो मानवीय र भौतिक क्षति भएको छ। बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार, सुख्खा बन्दरगाह र रसुवागढी हाइड्रोपावरको ड्याम तथा क्याम्पमा समेत क्षति पुर्याएको छ।
सशस्त्र प्रहरी बलका अनुसार, बाढीका कारण हालसम्म १८ जना बेपत्ता भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ९ जनाको उद्धार गरेको छ।
बेपत्ता हुने नेपालीहरूमध्ये इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन्। त्यस्तै, बर्दिया स्थायी ठेगाना भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ पनि बेपत्तामध्ये परेका छन्।
बाढीले सुख्खा बन्दरगाहका सात वटा इभी गाडी बगाएको छ भने रसुवागढी हाइड्रोपावरमा पनि ठूलो क्षति पुगेको जनाइएको छ।
सशस्त्र प्रहरीका अनुसार, बेपत्तामध्ये ६ जना चिनियाँ नागरिक रहेका छन्। उनीहरूका नाम यु युए (YU YUE), ली हुआछिङ (LI HUAQING), याङ छुवान (YANG CHUAN), यु हाई हाङ (YU HAI HANG), यु सियाओ छिउ (YOU XIAO QIU) र जो योंग (JOU YONG) रहेका छन्।
हाल प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। सरकारी सुरक्षा निकायहरूको टोली घटनास्थलमा परिचालित छन्।







