हेटौंडा उपमहानगरपालिका–२ मा निर्माण सम्पन्न भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भवन आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले (आइतबार) कार्यक्रमकाबीच उक्त भवनको उद्घाटन गर्नुभयो। करिब साढे ७ करोड रुपैयाँ प्रदेश सरकारको लगानीमा उक्त भवन निर्माण गरिएको हो।
उद्घाटन समारोहमा मन्त्री थापाले प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई प्राथमिकतामा राख्दै पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाएको जानकारी दिनुभयो।

“नागरिकको आयुर्वेदिक उपचारप्रति विश्वास बढ्दो छ,” मन्त्री थापाले भन्नुभयो, “तर, भौतिक संरचना मात्र हैन, सेवा पनि गुणस्तरीय हुनुपर्छ।”
मन्त्री थापाका अनुसार हाल १० प्रकारका आयुर्वेदिक औषधिहरू उत्पादन हुँदै आएकोमा अब थप ११ प्रकारका औषधि यहीँबाट उत्पादन गरिनेछ। उहाँले हेटौंडा अस्पतालको नयाँ भवन निर्माण भइसकेपछि अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गरिने जानकारी समेत दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु एका लाल श्रेष्ठ, प्रेम बहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।










