हेटौँडामा प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माणको शिलान्यास गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा मंगलबार हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा अस्पताल शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गर्दै प्रहरीका लागि मात्र नभई स्थानीय बासिन्दाका लागि पनि अस्पताल लाभदायी हुने उल्लेख गरे। प्रदेश सरकारले सुरक्षाकर्मी र नागरिकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिँदै गुणस्तरीय सेवा दिने उद्देश्यले निर्माण कार्य सुरु गरिएको उनले बताए।
बागमती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने यस परियोजनाको पहिलो चरणमा बहिरङ्ग विभाग, कर्मचारी आवास, डिप बोरिङ, पार्किङ, घेराबारलगायतका संरचना निर्माण हुनेछन्। मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शय्याको अस्पताल निर्माणको योजना रहेकामा प्रारम्भिक चरणमा १५ शय्याको अस्पतालको काम सुरु गरिएको हो।
प्रहरी नायब उपरीक्षक तथा अस्पतालका प्रमुख चिकित्सक डा. प्रयास बिडारीका अनुसार पहिलो चरणको भवन निर्माण सकिएपछि बहिरङ्ग र अन्तरङ्ग दुवै सेवा सञ्चालनमा ल्याइनेछ। निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित कुल ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा २०८३ पुस १८ गतेभित्र अस्पताल सम्पन्न गर्ने गरी सम्झौता भएको जानकारी पनि उनले दिए।
हाल बागमती प्रदेश प्रहरी अस्पताल हेटौँडा–१५ स्थित रातोमाटे प्रहरी गणबाट सीमित सेवा दिइरहेको छ। नयाँ संरचना निर्माणसँगै सेवा दायरा थप व्यापक र सुलभ हुने अपेक्षा गरिएको छ।







