वाग्मती प्रदेश सरकारले प्राचीन धार्मिक र सांस्कृतिक सम्पदालाई पुनर्जीवन दिने उद्देश्यका साथ ‘शिव सर्किट परियोजना’ अगाडि बढाउने तयारी गरेको छ। प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लामो अनुसन्धानपछि सो परियोजनाको अवधारणा सार्वजनिक गरेको हो।
आज मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममार्फत भौतिक मन्त्री अमन कुमार मास्केले शिव सर्किट परियोजनासम्बन्धी अवधारणा प्रस्तुत गर्नुभयो।
मन्त्री मास्केका अनुसार, यो परियोजना नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। परियोजनाको मूल आधार प्राचीन वैदिक, हिन्दू र बौद्ध वाङ्मयमा उल्लेखित ‘हिमवत्खण्ड’मा वर्णन गरिएका ६४ शिवलिङ्ग तथा तीर्थस्थलहरू हुन्, जसले वाग्मती प्रदेशका अधिकांश जिल्ला समेट्छ।
प्राचीन ग्रन्थ र पदमार्गको ऐतिहासिकता
‘हिमवत्खण्ड’ स्कन्दपुराणअन्तर्गतको एक खण्ड हो, जसमा वर्तमान वाग्मती प्रदेशका सिन्धुली, दोलखा, रसुवा, धादिङ, मकवानपुर, नुवाकोट, काभ्रे, ललितपुर, भक्तपुर, र काठमाडौं जिल्लाभित्र रहेका ६४ शिवलिङ्गहरूको वर्णन गरिएको छ।
सिन्धुलीको कुशेश्वर क्षेत्रबाट सुरु भई पशुपतिनाथमा टुङ्गिने यो प्राचीन पदमार्गमा शिवलिङ्गहरू मात्र होइन, तपोभूमि, पवित्र नदी तथा तीर्थस्थलहरू पनि समेटिएका छन्। १५औँ शताब्दीदेखिका हस्तलिखित ग्रन्थहरूमा यी स्थलहरूको पठन–पूजन परम्पराले यसको ऐतिहासिक महत्वलाई अझ स्पष्ट बनाउँछ।
स्थानीय विकास र धार्मिक पर्यटनमा टेवा
मन्त्री मास्केले परियोजना केवल धार्मिक महत्व बोकेको नभई, प्रदेशको सामाजिक–आर्थिक विकासमा समेत टेवा पुर्याउने बताउनुभयो। “धार्मिक पदयात्रा परम्परालाई पुनर्जीवन दिँदै यो परियोजना पर्यावरणमैत्री र जनमैत्री बन्नेछ,” उहाँले भन्नुभयो।
परियोजना बहुयातायात विकल्पहरूमा आधारित हुनेछ — पदयात्रा मार्ग, साइकल मार्ग, मोटर सडक, केबलकार लगायत माध्यममार्फत विभिन्न वर्ग र उमेरका तीर्थयात्री तथा पर्यटकलाई सहज बनाउने सोच राखिएको छ।
स्थानीय स्रोत र समुदायलाई प्राथमिकता
शिव सर्किट परियोजना स्थानीय स्रोत, सीप र प्रविधिको अधिकतम प्रयोगसहित स्थानीय समुदायलाई सहभागी गराएर कार्यान्वयन गरिनेछ। यसबाट रोजगारी सिर्जना, उत्पादन र बजार विकास, सीप हस्तान्तरण लगायत क्षेत्रमा योगदान हुने मन्त्रालयको विश्वास छ।
अन्त्यमा वाग्मती प्रदेश सरकारले यो परियोजनालाई आगामी वर्षदेखि चरणबद्ध रूपमा लागू गर्ने योजना बनाएको छ। प्राचीन धार्मिक पदमार्गहरूको पुनःस्थापना गर्दै पर्यटन विकास र स्थानीय समृद्धिमा योगदान पुर्याउने ‘शिव सर्किट परियोजना’ प्रदेशका लागि दीर्घकालीन उपलब्धि बन्न सक्ने आशा गरिएको छ।
“आजको सामाजिक अवस्थाले मानिसहरूलाई धर्म र संस्कृतिबाट टाढा बनाउँदै लगेको छ, त्यसैले यो परियोजनाले उनीहरूलाई पुनः मूल मान्यतासँग जोड्न मद्दत पुर्याउनेछ,” मन्त्री मास्केले निष्कर्षमा भन्नुभयो।







