शिक्षण क्षेत्रमा बढ्दो जनशक्ति अभावलाई ध्यानमा राख्दै हेटौंडा स्कुल अफ म्यानेजमेन्टले शिक्षण उत्पादन तथा प्रशिक्षण कार्यक्रमको थालनी गर्ने भएको छ।
आज बिहिबार पत्रकार सम्मेलन गरी नवोदय शिशु सदन र नवोदय इनोभेसन सेन्टरको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रम आगामी १२ गतेदेखि सुरु हुने क्याम्पस प्रमुख पुरण बहादुर जोशीले जानकारी दिनुभयो।
म्यानेजमेन्टले पहिलोपटक शिक्षाशास्त्र विषयको अध्यापन सुचारु गर्दैछ, जसको मुख्य उद्देश्य सीपयुक्त शिक्षक उत्पादन गर्नु हो। ३० सिट क्षमतामा सीमित यस कार्यक्रम अन्तर्गत सहभागी विद्यार्थीले निःशुल्क अध्ययन गर्न सक्नेछन्। हालसम्म १३ जना विद्यार्थीले नाम दर्ता गराइसकेका छन्।
कार्यक्रमअन्तर्गत हेटौंडा स्कुल अफ म्यानेजमेन्टले समग्र नेतृत्व लिनेछ भने नवोदय शिशु सदनले ल्याब स्कुलको भूमिका निर्वाह गर्नेछ। नवोदय इनोभेसन सेन्टरले निर्देशनात्मक कार्यक्रमहरू सञ्चालन गर्नेछ।
कक्षा ११ र १२ को तहमा सञ्चालन गरिने यस कार्यक्रमलाई भविष्यमा स्नातक तहसम्म विस्तार गर्ने योजना रहेको छ। गणित, अंग्रेजी र नेपाली विषय समेटिने चार घण्टे दैनिक कक्षामा विद्यार्थीले दुई विषय अध्ययन गर्नेछन्।
प्रत्येक शुक्रबार पुस्तक परिचर्चा, शिक्षक संवाद जस्ता कार्यक्रमहरू सञ्चालन गरिने र यसले विद्यार्थीको भाषा क्षमता, आलोचनात्मक सोच र शिक्षणमा रुचि अभिवृद्धि गर्ने विश्वास लिइएको छ। साथै, प्रत्येक हप्ताको दुई दिन विद्यार्थीलाई दुई समूहमा विभाजन गरी आधारभूत शिक्षण सीप र विषयवस्तु प्रदान गरिनेछ।
विशेषज्ञ शिक्षकमार्फत निर्देशनात्मक कक्षा, मासिक रु १,००० प्रोत्साहन खर्चको व्यवस्था र अध्यापनपछि रोजगारी सुनिश्चितता म्यानेजमेन्टको दावी रहेको छ।