हेटौंडा/ मकवानपुरका छुट्टाछुट्टै स्थानहरूबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।
हेटौंडा–११ स्थित झोलुङ्गे पुल नजिक कान्छा बलको घुम्ती पसल फुटाएर चोरी भएको सूचनाको आधारमा खटिएको प्रहरीले शंकास्पद अवस्थामा बसिरहेका केही व्यक्तिहरूको शरीर खानतलासी गर्दा लागूऔषध फेला परेको हो। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत मकवानपुरबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसैबीच, हेटौंडा–१२ निवासी २२ वर्षीय नवीन श्रेष्ठ र २६ वर्षीय विजय बललाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट २२ ट्याब्लेट नाइट्राभेट र ९ बट्टा चुरोट बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, हेटौंडा–२ सानो पोखराचोकस्थित चिया पसलबाट लागूऔषध ट्रामाडोलसहित ३ जना पक्राउ परेका छन्। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिकाकी ४२ वर्षीया सरस्वती मुक्तान, १९ वर्षीय रोजन मुक्तान र भारतको मोतिहारी घर भएका २३ वर्षीय सुल्तान खानलाई पक्राउ गरेको हो। उनीहरूबाट १८८ क्याप्सुल ट्रामाडोल र ५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
त्यस्तै, हेटौंडा–२ स्थित पुरानो मनकामना पथमा डेरा गरी बस्ने २१ वर्षीय अंकित दोङको कोठाबाट १११ ट्याब्लेट नाइट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल फेला परेपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।







