हेटौंडा/शिक्षा केवल परीक्षा पास गर्ने माध्यम नभई जीवन बुझ्ने कला भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताएका छन्।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मकवानपुरद्वारा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले शिक्षा सुखद भविष्यतर्फको यात्रा भएको उल्लेख गरे।
कार्यक्रममा एसईईमा सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई दिँदै उनले भने, “विद्यार्थीहरू असिमित क्षमताले भरिएका छन्। यदि ती क्षमताहरू देखाउने क्यामेरा आविष्कार भएको भए उनीहरू आफैं अचम्म मान्थे र अभिभावकहरू खुशीले मुस्कुराउँथे।”
उनले उत्कृष्ट नतिजामा योगदान गर्ने शिक्षक, अभिभावक, विद्यालय प्रशासन र विद्यार्थीले भोगेका चुनौतीहरूलाई सहयात्रा भएको उल्लेख गरे।

“विद्यार्थीहरू आजका मात्र होइनन्, भोलिका नीति निर्माता, वैज्ञानिक र समाज परिवर्तनकर्ता हुन्,” उनले भने। परिवार, समाज र राष्ट्रले उनीहरूबाट ठूलो अपेक्षा राखेको स्मरण गराउँदै उनले मेहनत, अनुशासन र संस्कारको बलमा विद्यार्थीहरू जीवनका आगामी चुनौतीहरूमा पनि सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुबेदीको अध्यक्षतामा ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको थियो।
प्याब्सन मकवानपुरका प्रमुख सल्लाहकार मदन दाहालले शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको योगदान अतुलनीय रहेको बताए।








