बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको निमन्त्रणामा कार्यक्रम सहभागी हुन साउन ८ गते बिहीबार दक्षिण कोरिया प्रस्थान गर्ने भएका छन्।
बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाको ललितपुरस्थित भैंसेपाटी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री काफ्लेको तीन दिने वैदेशिक भ्रमण स्वीकृत गरेको हो।
भ्रमण प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव श्रीकृष्ण आचार्यले बैठकमा पेश गरेका थिए। प्रमुख सचिव अनुपस्थित रहेकाले सो प्रस्ताव मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रितेश शाक्यले निमित्त प्रमुख सचिवको हैसियतमा बैठकमा प्रस्तुत गरेका थिए। प्रमुख सचिव भूपाल बराल भने त्यसबेला हेटौंडामा थिए।
सरकारले मन्त्री काफ्लेको भ्रमण खर्च प्रदेश सरकारले व्यहोर्ने छैन भन्ने निर्णयसमेत गरेको छ। भ्रमणसम्बन्धी सम्पूर्ण व्यवस्थापन एनआरएनए दक्षिण कोरियाले गर्ने जनाइएको छ।







