हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आफू न राजीनामा दिने मनस्थितिमा रहेको बताएका छन्, न त दलको नेताबाट पछि हट्ने सोच बनाएको स्पष्ट पारेका छन्।
‘म मुख्यमन्त्री नै छु, राजीनामा दिएका मन्त्रीहरूको ठाउँमा आजै वा भोलिसम्म नयाँ नियुक्ति हुन्छ,’ उनले भने, ‘संयुक्त सरकारको नेतृत्व गर्न संसदीय दलको नेता हुनैपर्छ भन्ने छैन, त्यसैले गठबन्धनले अर्को निर्णय नगरेसम्म म पद छाड्दिन।’
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामाविरुद्ध कांग्रेसकै २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। सो प्रस्ताव दर्ता हुनुअघि सरकारमा रहेका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।
चुनावबाट प्रदेश संसदीय दलको नेता निर्वाचित भएका लामाले आफू पदबाट हट्ने पक्षमा नरहेको बताउँदै भने, ‘अविश्वास प्रस्ताव आउँछ भने म त्यसको सामना गर्न तयार छु।’







