बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीहरूको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गर्न सकिने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले एनआरएनएलाई नेपाली समुदायको साझा संस्था बनाउँदै नेपाल र नेपालीको हितमा केन्द्रित गरिनु आवश्यक रहेको बताए।
“गैरआवासीय नेपालीबीच देखिएको मतभेद समाधान गरी संस्थालाई अझ जिम्मेवार, समावेशी र जनमुखी बनाउनु आजको आवश्यकता हो,” मन्त्री काफ्लेले भने, “एनआरएनए सशक्त र परिणाममुखी बनेमा मात्रै विश्वभर फैलिएका नेपालीहरूको हित सुनिश्चित गर्न सकिन्छ।”
उनले विदेशमा आर्जित सीप, ज्ञान, प्रविधि र अनुशासनलाई संस्थागत रूपमा नेपालमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। “कोरियामा सिकिएको दक्षता र अनुशासन नेपालमा लागु गर्न सके समृद्धिको भरपर्दो आधार तयार हुन्छ,” उनले भने।
विदेशमा रहेर पनि मातृभूमिको समृद्धिको सपना देखिरहेकाहरूलाई धन्यवाद दिँदै मन्त्री काफ्लेले कोरियामा आर्जित पूँजी तथा सीपलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले सरकार सहकार्यका लागि तयार रहेको पनि स्पष्ट पारे।
“बागमती प्रदेश सरकार गैरआवासीय नेपालीसँग आवश्यक समन्वय गर्न तयार छ। योजनाबद्ध रूपमा लगानी गरेमा राज्यको संयोजन र साथ रहनेछ,” मन्त्री काफ्लेले भने।
साथै, कोरियामा रहेका समस्याग्रस्त नेपालीहरूको पहिचान गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।
एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका विभिन्न पदाधिकारीहरूले एनआरएनएको सुदृढ भविष्य र विश्वव्यापी नेपाली हितका विषयमा धारणा राखेका थिए। महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुने कार्यक्रम तय भएको छ।




