मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भारतको मोतीहारी जिल्लास्थित सुगौली गाउँ पञ्चायत अन्तर्गत बन्जरीया थानाका २४ वर्षीय शेख गुल्जार, २५ वर्षीय बसिम अहमद, १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत पक्राउ परेका हुन्।
उनीहरू सवार BR05PA9093 नम्बरको भारतीय स्कारपियो गाडी कुलेखानी हुँदै काठमाडौंतर्फ जाँदै गर्दा शनिबार इन्द्रसरोवर गाउँपालिका–२ को हेवीमा रोकी जाँच गर्दा गाडीको विभिन्न भागमा फल्स बटम बनाइ लुकाइ राखिएको अवस्थामा डाईजेपाम २ हजार २ सय २६ एम्पुल, नुर्फिन २ हजार ३ सय ५६ एम्पुल, प्रोमेथाइजिन हाइड्रोक्लोराइड १ हजार ८ सय ६१ एम्पुलसहित जम्मा ६ हजार ४ सय ४३ एम्पुल लागुऔषध र ट्रामाडोल ४९ ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानी र इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको संयुक्त टोलीले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकासहित बरामद लागुऔषध र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







