हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशसभा विघटनसम्बन्धी अभिव्यक्ति दिएपछि सत्ता साझेदार दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ।
मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमसँगको कुराकानीमा प्रदेशसभा विघटन आफूसँग विकल्पका रूपमा रहेको र सत्ता साझेदार दलहरूबाट समेत त्यससम्बन्धी सुझाव प्राप्त भएको बताएका थिए। तर नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले मुख्यमन्त्रीको उक्त दाबी कपोलकल्पित भएको स्पष्ट पारेका छन्।
उनले एमालेले प्रदेशसभा विघटनजस्तो ‘घातक र प्रतिगामी’ सुझाव कहिल्यै नदिएको र भविष्यमा पनि नदिने बताएका छन्। “हाम्रो पार्टी राजनीतिक स्थायित्व र सुशासनका लागि संधै संघर्षरत छ,” पौडेलले भने, “त्यही उद्देश्यका लागि नेपाली कांग्रेससँग मिलेर हामी सरकारमा सहभागी भएका हौं।”
मुख्यमन्त्री लामाको दाबीप्रति आपत्ति जनाउँदै पौडेलले भने, “नेकपा एमालेले प्रदेशसभा विघटनसम्बन्धी कुनै सुझाव दिएको छैन। त्यसप्रकारको भ्रामक सन्देशप्रति हाम्रो कडा विरोध छ।”
उनले नेपाली कांग्रेससँगको सहकार्य तोकिएको समयसम्म जारी रहने बताएका छन्। “कांग्रेसबाट को मुख्यमन्त्री हुन्छ भन्ने कुरा हाम्रो सरोकार होइन,” उनले भने, “हामी सहमतिअनुसार समर्थनमा छौं तर प्रदेशसभा विघटनको कुरा हाम्रो नीति र सोचविपरीत हो।”
यसैबीच, मुख्यमन्त्री लामाले आफ्नै पार्टीका २१ सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन्। उत्पन्न विवाद समाधानका लागि कांग्रेस केन्द्रीय समिति सदस्य राजन केसी हेटौंडा आइपुगेका छन्।
कांग्रेस संसदीय दलले आज सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएको भए पनि साढे ४ बजेसम्म पनि बैठक सुरु हुन सकेको छैन। दलमा ३७ जना सांसद छन् भने त्यसमा विभाजन देखिएको अवस्था छ। राजन केसीको पहलमा मुख्यमन्त्री लामा र सांसद इन्द्रबहादुर बानियाँबीच छलफल जारी छ।







