नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बिहान १० बजेका लागि तय बैठकमा बहालवाला खानेपानी मन्त्री श्याम खड्का मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध उभिने भएका छन्।
मन्त्री खड्काले सहमति जुटे बैठकमै मत विभाजनको आवश्यक नपर्ने तर प्रक्रियामा जाने स्थिति आयो भने आफू मन्त्री पदबाट राजीनामा दिएर विपक्षमा मतदान गर्ने बताएका छन्।
उनले भने, “१० बजेसम्म सहमति भयो भने केही गर्नुपर्दैन, तर प्रक्रिया अगाडि बढे भने राजीनामा दिएर विपक्षमा मतदान गर्छु।”
हाल बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन्। तीमध्ये २१ जनाले मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी संसदीय दलमा बुझाइसकेका छन्। यद्यपि तीमध्ये दुई सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको दाबी गर्दै फिर्ता लिएका छन्।
तर मन्त्री खड्काको विपक्षमा मतदान गर्ने घोषणा पश्चात् मुख्यमन्त्रीविरुद्ध स्पष्ट रूपमा २० सांसदको समर्थन देखिएको छ। प्रकाशशरण महत निकट मानिने मन्त्री खड्का संसदीय दलका नेतासमेत रहेका बानिया पक्षमा खुलेका छन्।







