बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा नीति निर्माण, योजना विकास, अध्ययन अनुसन्धान र बजेट कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ।
मन्त्री अमनकुमार मास्केको नेतृत्वमा मन्त्रालयले पूर्वाधार विकासलाई थप जनमुखी र व्यवस्थित बनाएको छ। ‘जनतालाई कुनै पनि भौतिक पूर्वाधारमा समस्या पर्दा म सधैं अगाडि हुन्छु,’ मन्त्री मास्केले भने, ‘प्रदेशवासीको समस्या समाधानमा प्रत्यक्ष संलग्न भएर काम गर्ने मेरो अठोट छ।’
बागमती प्रदेशमा पहिलोपटक ‘बागमती प्रदेश भवन नीति, २०७९’ मन्त्रिपरिषद्बाट पारित गर्दै भवन निर्माण प्रणालीमा एकीकृत तथा वैज्ञानिक दृष्टिकोणबाट कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ। साथै ‘जग्गा एकीकरण योजना कार्यविधि, २०७९’, ‘भवन निर्माण सहि नीति, २०७९’, ‘आधारभूत संरचना प्रणाली’ र ‘प्रदेश सडक मापदण्ड, २०७९’ जस्ता नीतिगत दस्तावेज तयार पारिएका छन्।
भवनहरूबारे डिजिटल विवरण राख्न मन्त्रालयले २०८१ प्रणाली लागू गरेको छ। साथै बस्ती विकास, जलवायु सहनशील पूर्वाधार निर्माण, र उद्यमशील बजार केन्द्रसम्बन्धी पूर्व–संभाव्यता अध्ययनहरू सम्पन्न भएका छन्।
सुरक्षित निर्माण प्रवर्द्धनका लागि ‘Building Code Implementation (BCI)–२०८१’ तयार गरिएको छ, जसले भवन संहिताको प्रभावकारिता मूल्यांकन गरी सुधारका आधार तय गरेको छ।
र आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले कुल विनियोजित बजेटको ५४.१ प्रतिशत खर्च गर्दै कार्यसम्पादनमा सन्तोषजनक उपलब्धि हासिल गरेको छ। मन्त्रालयका अनुसार यो खर्च भौतिक पूर्वाधारको प्रभावकारी विस्तारका लागि प्रतिबद्धताको संकेत हो।







