बाजुराको मार्तडी–कोल्टी सडकखण्ड निर्माणमा ढिलासुस्ती भएको भन्दै आलोचना भइरहेका बेला निर्माण कम्पनी पीएस–बानियाँ जेभीले स्पष्टिकरण सार्वजनिक गरेको छ। ‘बाजुरामा अलपत्र सडक छाडेर मुख्यमन्त्री बन्दैछन् ठेकेदार बानियाँ’ शीर्षकमा रातोपाटीमा आइतबार प्रकाशित समाचारप्रति कम्पनीले ९ बुँदे खण्डन जारी गर्दै प्रतिक्रिया दिएको हो।
कम्पनीले आफू बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबेदारी गरेका सांसद इन्द्रबहादुर बानियाँसँग आबद्ध नरहेको स्पष्ट पारेको छ। खण्डनमा भनिएको छ, “पीएस–बानियाँ जेभीको कुनै राजनीतिक दल वा व्यक्तिसँग सम्बन्ध छैन।”
सडक निर्माणसम्बन्धी विवरण दिँदै कम्पनीले आफूले केवल मार्तडीदेखि १४ किलोमिटरदेखि ४० किलोमिटरको खण्डसम्मको मात्रै ठेक्का लिएको जनाएको छ। सो क्षेत्रमा काम २०८४ साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको र हालसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिएको छ।
कम्पनीका अनुसार सडक चौडा गर्ने र कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माण पूरा भइसकेको र अब कालोपत्रे गर्ने काम मात्रै बाँकी रहेको छ। तर वर्षायाममा प्राविधिक कारणले कालोपत्रे गर्न नसकिने भएकाले वर्षा सकिएपछि तत्काल काम सुरु गरिने जनाएको छ। आवश्यक सबै औजार उपकरण साइटमै तयार अवस्थामा रहेको उल्लेख छ।
कम्पनीले हाल पहिरोका कारण अवरुद्ध बनेको क्षेत्र आफ्नाे कार्यक्षेत्रबाहिरको जिली क्षेत्रमा पर्न आएको बताएको छ। सोही क्षेत्रबाट इन्धन ढुवानी नहुनुका कारण सडकमा समस्या देखिएको र सकेसम्म छिटो इन्धन पुर्याएर निर्माण क्षेत्रभित्रको सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ।
त्यसैगरी, आयोजनाको १३ करोड रुपैयाँ बजेट फ्रिज भएको भन्ने आरोप पनि कम्पनीले अस्वीकार गरेको छ। उक्त रकम सरकारको वित्तीय अनुशासनअनुसार फिर्ता भएको हो, कम्पनीले स्पष्ट पारेको छ।
निर्माण कार्यप्रति गम्भीर रहेको कम्पनीले सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयमा रहेको जनाएको छ। तय भएको समयसीमाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धतासमेत कम्पनीले दोहो¥याएको छ।








