मकवानपुरको विकट कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार सम्पन्न १८औँ गाउँसभामा आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो।

गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा युवालाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिनुका साथै ‘चेली प्रोत्साहन कार्यक्रम’लाई निरन्तरता दिइने बताए।
नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रको विकास तथा विस्तारलाई प्राथमिकतामा राखिएको छ। साथै, एक घर–एक धारा कार्यक्रम, पूर्ण सरसफाइ उन्मुख पालिका घोषणा, रैथाने बाली संरक्षण तथा विस्तार, बाँझो जमिनको उपयोग र कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणका कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ।
स्वास्थ्यतर्फ वीपी स्मृति कैलाश आधारभूत अस्पतालमा चिकित्सक, आवश्यक जनशक्ति, उपकरण तथा औषधिको व्यवस्था गरी आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाइने अध्यक्ष मुक्तानले जानकारी दिए। ‘कैलाश बन्दैछ, बा–आमालाई सञ्चै छ’ अभियानलाई निरन्तरता दिइने तथा जिरो होम डेलिभरी नीति कार्यान्वयनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने उनले बताए।
गाउँपालिकाले सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप सुदृढ गर्दै बक्यौता, पेश्की तथा बेरुजु फर्छ्योटलाई प्राथमिकता दिने र शून्य बेरुजुतर्फ उन्मुख हुने नीति लिएको जनाएको छ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले प्रस्तुत गरेको बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, राजस्व बाँडफाँट, समपूरक तथा विशेष अनुदानमार्फत ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ भने गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
व्ययतर्फ आर्थिक विकासमा २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७५ लाख ५४ हजार, पूर्वाधार विकासमा १५ करोड ७० लाख, सामाजिक विकासमा २४ करोड ८९ लाख १५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा ४३ लाख तथा प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
१० चेली सम्मानित
१८औँ गाउँसभाको अवसरमा गाउँपालिकाले १० जना चेलीलाई नगदसहित सम्मान गरेको छ। सम्मानित हुनेमा वडा नं. २ की मुना चेपाङ, वडा नं. ४ की शान्तिमाया मुक्तान, वडा नं. ६ की सावित्री अधिकारी, वडा नं. ९ की संगीता गलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा तथा वडा नं. १० की फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान रहेका छन्।

गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने चेलीलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने नीति अवलम्बन गरेको अध्यक्ष मुक्तानले बताए। बालविवाह न्यूनीकरण, किशोरीहरूको शिक्षा र स्वास्थ्य संरक्षण तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ।







