मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि डिजिटल सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार आयोजित गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रस्तुत नीति तथा कार्यक्रममा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने र कृषि उत्पादनलाई व्यवसायिक बनाउने लक्ष्य लिइएको छ।
डिजिटल शासन प्रणालीलाई सुदृढ बनाउन विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरूमा विभिन्न व्यवस्थापन सूचना प्रणाली (एमआईएस) लागू गरिने भएको छ। साथै गाउँपालिकाको आफ्नै मोबाइल एप सञ्चालन तथा डिजिटल सेवाको विस्तार गर्ने योजना समेत समावेश गरिएको छ। स्थानीय तहको सम्पूर्ण तथ्याङ्क समेटिएको डिजिटल प्रोफाइल तयार गरी तथ्यमा आधारित योजना निर्माण गरिने नीति लिइएको छ।
शिक्षा क्षेत्रअन्तर्गत सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ। विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार, शिक्षकहरूको क्षमता विकास तथा प्राविधिक शिक्षाको पहुँच बढाउने कार्यक्रम अघि सारिएको छ। विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न अतिरिक्त कक्षा, शैक्षिक मूल्याङ्कन तथा नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
स्वास्थ्यतर्फ ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिँदै आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने नीति लिइएको छ। मानसिक स्वास्थ्य, किशोर स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ। स्वास्थ्य संस्थाहरूमा डिजिटल स्वास्थ्य अभिलेख प्रणाली लागू गर्ने योजना पनि गाउँपालिकाले अघि सारेको छ।
खानेपानी तथा सरसफाइ क्षेत्रमा सुरक्षित खानेपानी सेवाको पहुँचबाट वञ्चित बस्तीहरूमा सेवा विस्तार गरिने भएको छ। जलवायु परिवर्तनका प्रभावलाई मध्यनजर गर्दै पानीका स्रोतहरूको संरक्षण र सरसफाइ प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
पूर्वाधार विकासअन्तर्गत सडक सञ्जाल विस्तार, पुल तथा कल्भर्ट निर्माण, कृषि सडक स्तरोन्नति तथा सार्वजनिक भवनहरूको निर्माण र मर्मत कार्यलाई निरन्तरता दिइनेछ। कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउन कृषकलाई प्रविधि, तालिम तथा अनुदानमार्फत सहयोग गर्ने नीति ल्याइएको छ। उन्नत बीउ, सिँचाइ, पशुपालन, दुग्ध उत्पादन र कृषि यान्त्रीकरणलाई प्रोत्साहन गरिने साथै स्थानीय उत्पादनको बजारीकरण र कृषिमा युवाको आकर्षण बढाउने कार्यक्रम पनि समेटिएको छ।
गाउँपालिकाले सामाजिक समावेशीकरणलाई पनि विशेष महत्व दिएको छ। ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र सहभागिता सुनिश्चित गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
गाउँसभा बैठकमा उपाध्यक्ष सीता पुलामीले आर्थिक विधेयक पेश गरेकी थिइन्। कार्यपालिका सदस्य शिवप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने शून्य समयमा गाउँसभा सदस्य नवराज सुवेदी, रामप्रसाद सुवेदी र हिरा प्रजाले आ–आफ्ना धारणा राखेका थिए। साथै वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र अधिकारीले चालु आर्थिक वर्ष २०८२/८३ का प्रमुख उपलब्धि तथा कार्यक्रमबारे जानकारी गराएका थिए।







