मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८९ करोड ५० लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
उहाँका अनुसार “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय सोचलाई आत्मसात गर्दै “समृद्ध बकैया” निर्माण गर्ने उद्देश्यसहित बजेट तर्जुमा गरिएको हो।
प्रस्तावित बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड तथा सशर्त अनुदानमार्फत ४९ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी बागमती प्रदेश सरकारका विभिन्न अनुदानबाट १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपैयाँ, आन्तरिक स्रोतबाट ४ करोड ६७ लाख ७५ हजार ८८५ रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँडबाट ५ करोड ५० लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।
कुल बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ (७१.४३ प्रतिशत) र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ (२८.५७ प्रतिशत) खर्च गर्ने योजना रहेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को समीक्षा गर्दै उपाध्यक्ष खत्रीले जेठ मसान्तसम्म गाउँपालिकाले ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको र असार मसान्तसम्म पुँजीगत बजेटको भौतिक प्रगति ८५ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको बताउनुभयो।
सामाजिक विकास क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आगामी वर्षका लागि १० करोड ३३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, पूर्वाधार विकासतर्फ ९ करोड ३७ लाख ५० हजार रुपैयाँ, आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ७५ हजार रुपैयाँ तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि ६ करोड ३५ लाख ७५ हजार रुपैयाँ छुट्याइएको छ। वातावरण तथा विपद् व्यवस्थापनका लागि ६२ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि तथा विद्यालयहरूको भौतिक सुधारका लागि ४ करोड ३५ लाख रुपैयाँ र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि २ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषिको व्यावसायीकरण र आधुनिकीकरणमार्फत गाउँपालिकालाई खाद्यान्न, दूध तथा मासुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित २ करोड २८ लाख रुपैयाँ छुट्याइएको छ।
बजेटमार्फत करार सेवामा कार्यरत कर्मचारीहरूको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरिएको छ। साथै उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ। पूर्वाधार आयोजनामा नागरिकको अपनत्व र सहभागिता बढाउन १० प्रतिशत लागत साझेदारीको नीति समेत अवलम्बन गरिएको छ।
उपाध्यक्ष खत्रीले सीमित स्रोत–साधनका बाबजुद जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज तथा कर्मचारीहरूको सहयोगमा बजेटको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।







