पशुपति आर्यघाटमा जलाउँदै गरिएको शवबाट हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दका अनुसार शुक्रबार आर्यघाटमा भएको घटनापछि ‘घाटे बाहुन’ र दाउरा उठाउने एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका मध्ये घाटे बाहुनलाई यस प्रकरणको मुख्य आरोपी मानिएको छ।
प्रहरीका अनुसार शव जलाउने क्रममा सानो टुक्रा हड्डी बिक्री गरेको देखेपछि मलामी बसेकाले सोधखोज गरेका थिए। त्यसपछि प्रहरी पुगेको भए पनि लिने व्यक्ति भने भेटिएका थिएनन्।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकामध्ये एक जनाले लोभमा परी हड्डी बिक्री गरेको स्वीकारेका छन्। “४/५ सय रुपैयाँ दिएकाले दिएको हुँ भनेका छन्,” स्रोतले भन्यो।
पीडित परिवारले भने दुई जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएका छन्। हड्डी किन र कसलाई बिक्री गरिएको हो भन्नेबारे भने अनुसन्धान जारी छ।







