हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आज शुक्रबार साँझ मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। साउन २७ गते विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री बानियाँले रिक्त रहेका ६ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिन लागेका हुन्।
मुख्यमन्त्री स्रोतका अनुसार नेपाली कांग्रेसका पाँच नेतालाई मन्त्री बनाउने तयारी भएको छ। मन्त्री बन्नेमा प्रभात तामाङ,कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी र उर्मिला नेपालको नाम रहेको बुझिएको छ।
अर्थ मन्त्रालयको जिम्मेवारी प्रभात तामाङलाई र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चनकृष्ण वादेलाई दिने तयारी भएको स्रोतले जनाएको छ। अन्य मन्त्रालयको जिम्मेवारीबारे भने अन्तिम टुंगो लागिसकेको छैन।
नवनियुक्त मन्त्रीहरूको सपथग्रहणका लागि बागमती प्रदेश प्रमुखको कार्यालयमा तयारी पूरा भएको छ। उनीहरूलाई आजै साँझ हेटौँडामा सपथ खुवाइने कार्यक्रम तय भएको छ।







