बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसभित्र कुनै गुटउपगुट नरहेको स्पष्ट पार्दै गाउँ–टोलमै विकास निर्माणसँगै संगठन सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ।
कांग्रेस थाहा नगरपालिका र मकवानपुर क्षेत्र नं. २ (क) क्षेत्रीय कार्य समितिको संयुक्त आयोजनामा आइतबार थाहानगरको पालुङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा देखिने खालका विकास निर्माण, छिटो तथा सहज सरकारी सेवा र जनताप्रति प्रत्यक्ष अनुभव हुने कामलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उहाँले २०५१ सालझैं आगामी निर्वाचनमा पनि कांग्रेसलाई प्रदेशकै पहिलो दल बनाउने लक्ष्यसहित पार्टी, सरकार र जनताबीचको सम्बन्धलाई अझ नजिक बनाउने प्रतिबद्धता जनाउनुभयो।
मुख्यमन्त्री बानियाँले जनताको करबाट संकलित रकममार्फत आगामी दशैंअघि निर्वाचन क्षेत्रमा रहेका विपन्न परिवारलाई आवास निर्माण गर्ने योजना अघि बढाउने जानकारी दिनुभयो। उहाँका अनुसार गणतन्त्रभित्र फरक–फरक विचार र व्यवस्थालाई मिलाउँदै अब गफ होइन, काम गरेर देखाउने अवस्था आएको छ।
कार्यक्रममा कांग्रेस थाहानगर सभापति प्रमोद जोशीको सभाध्यक्षतामा कांग्रेसका पदाधिकारी, सदस्य र क्रियाशील कार्यकर्ताहरूको उपस्थिति थियो।







