हेटौंडा/ नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सोमबारदेखि १०० दिने विशेष सदस्यता अभियान सुरु गरेको छ । अभियान शुभारम्भका अवसरमा युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पंखा (फ्यान) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ ।
युनियनका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा प्रमुख आतिथ्य रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई सहयोग तथा प्रोत्साहन गर्ने कार्यलाई युनियनले प्राथमिकतामा राख्दै आएको बताए । “यसले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने विश्वास गरेका छौं,” उनले भने ।

कार्यक्रममा युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिका समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा र मकवानपुर अध्यक्ष निशा गुरुङसहितका पत्रकारहरुको उपस्थिति थियो ।
प्रेस युनियन मकवानपुर श्रमजीवी पत्रकारको हकहितका लागि आवाज उठाउने अग्रणी संस्था मानिन्छ । विभिन्न समयमा सक्रियतापूर्वक गतिविधि सञ्चालन गर्दै आएको मकवानपुर शाखा, प्रेस युनियनका अन्य शाखाहरूमध्ये केन्द्रीय समितिबाट समेत प्रशंसित हुँदै आएको छ ।







