बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आज (मङ्गलबार) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न निर्माणाधीन संरचनाको अवलोकन तथा अनुगमन गर्नुभएको छ।

मन्त्री थापाले हेटौंडा–११ स्थित नलेज भिलेज, हेटौंडा–६ गौरीटार, हेटौंडा–४ हुप्रचौर, अनुसन्धान केन्द्र हेटौंडा–८ लगायत प्रतिष्ठानका कक्षाहरू र निर्माणाधीन भवनहरूको निरीक्षण गर्नुभएको हो।

चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानमा एमबीबीएस (MBBS) को लागि ५० सिट स्वीकृति प्रदान गरिसकेको छ। यसअघि प्रतिष्ठानमा बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी (BMLT), पब्लिक हेल्थ (BPH) र ब्याचलर अफ फार्मेसी (B-Pharmacy) कार्यक्रम सञ्चालनमा रहेका छन्।

त्यसैगरी, यसै शैक्षिक वर्षदेखि प्रतिष्ठानमा एमडी (MD) तहअन्तर्गत स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजी विषयमा कक्षा सुरु हुने भएको छ।








