मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा किरिया (घेवा) भइरहेको बेला परेको चट्याङले एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ४ः३० बजेतिर तामाङ समुदायको परम्पराअनुसार दिवंगत मानबहादुर घलानको घरमा अन्तिम दिनको घेवा चलिरहेको बेला चट्याङ परेको हो। चट्याङ लाग्दा ४६ वर्षीय बिशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको वडा नं ६ का अध्यक्ष युवराज थपलियाले जानकारी दिनुभयो।
घटनापछि प्रहरी चौकी सुनाचुरी र इलाका प्रहरी कार्यालय मनहरीका टोली तत्कालै घटनास्थल पुगेका थिए।
चट्याङमा परी घाइते भएकामध्ये १२ वर्षीय सुजन घलान, १२ वर्षीया वर्षा घलान, १६ वर्षीय सन्तोष घलान, ७२ वर्षीया सानुमाया घलान, ३७ वर्षीय राजकुमार घलान, ३२ वर्षीया शान्ति घलान र उनकी २ वर्षीया छोरी सारा घलान रहेका छन्। त्यस्तै ५० वर्षीय प्रमाणसिंह तितुङ, ४४ वर्षीय पानबहादुर मुक्तान, ३४ वर्षीय प्रेमबहादुर घलान र १२ वर्षीय आर्यन तितुङ पनि घाइते भएका छन्।
सबै घाइतेलाई मनहरी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल प्रमुख डा. रश्मी झाका अनुसार घाइतेको अवस्था गम्भीर नभएकाले अस्पतालमै उपचारको व्यवस्था मिलाइएको छ।
घटनापछि मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका थिए। उहाँले घाइतेहरुको उपचार निःशुल्क गरिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो। साथै २ वर्षीया सारा घलानको परिवारका लागि खाजा–खानासहितको व्यवस्थापन गर्न व्यक्तिगत रुपमा नगद १० हजार रुपैयाँ सहयोगसमेत गर्नुभएको छ।
मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो।