नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषको बिहीबार औपचारिक शुभारम्भ गरेको छ।
महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार तथा सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कोष हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो।
कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि महासंघले सुरु गरेको पहल सराहनीय रहेको बताइन्। उनले तत्कालै कोषमा व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्।
त्यसैगरी उपप्रमुख राजेश बानियाँले पनि यो कोष सञ्चालन ऐतिहासिक कदम भएको उल्लेख गर्दै व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, पूर्व अध्यक्ष प्रताप विष्ट, गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, वानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाईसहित विभिन्न संघ–संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता थियो।