मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज आइतबार बिहान ९:२५ बजे प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरिएको हो।
रक्सौलबाट काठमाडौंतर्फ जाँदै गरेको BR 01 PB 1802 नम्बरको भारतीय सुमो रोकी तलासी गर्दा सवारीसाधनको पछाडिपट्टी साइड बडीभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा ३९ वटा पोकोमा राखिएका फेनेर्गान १,९५० एम्पुल, नुफिन १,९५० एम्पुल, डाईजेपाम १,९५० एम्पुल गरी जम्मा ५,८५० एम्पुल तथा ट्रामाडोल २४० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषधसहित सुमो चालक भारतको उत्तर प्रदेश, बहराईच जिल्ला, बलई गाउँका ३५ वर्षीय किस्मत अली र सोही स्थानका २८ वर्षीय शाहरुख अलीलाई नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको सवारीसाधन र लागुऔषधसहित उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।








