हेाटाेंडा/ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आयोजनामा मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमार्फत आश्रममा आश्रित १३८ जनाको विभिन्न विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ।
स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता जनाउँदै, यस किसिमका शिविरले आश्रममा बस्ने व्यक्तिहरूको स्वास्थ्य परीक्षणमा ठूलो सहयोग पुगेको बताए। उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाइने समेत उल्लेख गरे।
शिविरको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा, अस्पतालका नि. निर्देशक डा. रामचन्द्र सापकोटा, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरका अध्यक्ष उत्सव चौलागाईं, हेटौंडा उपमहानगरकी प्रमुख कुसुम श्रेष्ठलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो।
विशेषज्ञ चिकित्सक, नर्स, पारामेडिक्स, ल्याब प्राविधिक तथा स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परीक्षणसँगै आवश्यक उपचार र परामर्श सेवा उपलब्ध गराएको थियो।
स्वास्थ्य परीक्षण गरिएका १३८ जनामध्ये ९९ जनाले सामान्य स्वास्थ्य सेवा, १५ जनाले स्त्रीरोग तथा प्रसूति सेवा र २९ जनाले हाडजोर्नी तथा नशासम्बन्धी सेवा लिएका थिए। बिरामीहरूको अवस्थाअनुसार रक्त परीक्षण, भिडियो एक्सरे, सिटी स्क्यानलगायत थप परीक्षण गरिने र आवश्यक पर्नेले निःशुल्क औषधि पनि प्राप्त गरेको अस्पतालले जनाएको छ।